म श्याम बहादुर छन्त्याल हो । म रघुगंगा गाउंपालिकाको वडा नं. ८ कुईनेमंगले गाउंको मंगले टोलमा बस्छु । मेरो गाउंमा चौबिस घर परिवारको बसोबास छ । मेरो परिवारमा तीन वटी छोरीहरु र हामी श्रीमान श्रीमती गरि ५ जनाको परिवार छ । दुईटा छोरीहरु ८ र ९ कक्षामा पढिरहेका छन भने कान्छि छोरी टाठी भएर पनि बोल्न समस्या छ, उसलाई बहिराहरुले पढने बिशेष कक्षामा भर्ना गर्नु पर्नेछ ।
मेरो मुख्य पेशा कृषि हो । कृषिबाट मेरो जेनतेन गुजरा चलिरहेको छ । मेरा गाउं निक्केै चिसो हुने भएकोले सबै खालको खेतीपाती कम हुन्छ भने लगाएको अन्न पाक्न पनि लामो समय लाग्छ । फुर्सदको समयमा मैले गाउंमै घरगोठ बनाउने काम गर्ने गर्दछु । कहिले कांही मौका मिले घर बनाउने ठेक्काको जिम्मा पनि लिने गर्दछु ।
म मेरै टोलको श्री कृष्ण यूवा क्लबको सल्लाहाकार पनि हुं । यस्तै गरि मेरो गाउंको श्री कृष्ण सामुदायिक वन उपभोक्ता समहको उपाध्यक्ष पनि हुं ।
मेरो मंगले गाउं सरसफाईको क्षेत्रमा पहिला राम्रो थिएन । चिसोबाट बच्न घर भित्र बिचमा चुलो बनाएर आगो बाल्ने सबै घरपरिवारको चलन थियो । यसरी बालेको आगोबाट निस्केका घुवांले नया घरको रुप एकै वर्षमा अर्कै बनाउंछ । घरको रुप फेरियो भने घरको काठमा कीरा लाग्दैन भन्ने चलन रहेको छ । यसरी आगो बाल्दा ताप्न पनि मिल्ने भएकोले यो अभ्यास बषौं देखि चलेको हो । हामी यस्तै तरीकाबाट खाना पकाउन र ताप्नमै रमाईरहेका पनि थियौं ।

यस्तै अबस्थामा यसै वर्षको जेठ महिनामा सुअहारा कार्यक्रमका कर्मचारीहरुले गाउंको सामुदायिक भवनमा बैठक र फिल्म देखाउने कार्यक्रम राखेको थियो । फिल्म हेर्ने भने पछि गाउंमा भएका सबै जनाको उपस्थिति थियो । त्यहां सरसफाई सम्बन्धि फिल्म देखाईएको थियो । फिल्म हेरे पछि सरसफाईको बारेमा छलफल भयो । हाम्रो गाउंमा पनि सरसफाई सम्बन्धि धेरै काम गर्न बांकी रहेछ भन्ने थाहा भयो ।
बैठकमा चर्पि, खानेपानी, साबुनापनीले हात धुने नुहाउने, घर वरीपरिको सरसफाई सबै बिषयमा सुधार गर्न सबै तयार भए । त्यस बेला भन्दा अगाडी अहिले निक्कै परक भएको मैले र सबै गाउंलेहरुले महसुस गरेकै छम् ।
त्यती खेर छलफल भएको कुरा मध्ये सुधारिएको चुलो ल्याउने भनेर गरेको निधो भने मलाई यति खेर पनि गजब लागिरहेको छ । हाम्रो गाउं जाडो हुने भएकोले आगो ताप्नको लागि सबैको घरमा ठूलो चुलो बनाएर धेरै दाउरा एकै चोटी बाल्ने चलन छ । एक भारी दाउरा त एक छाक खाना बनाउंदा नै सकिन्छ । दाउराको खपट बढि चाहिने भएकोले जंगल मासिदै गएको छ । पहिला पहिला दाउरा नजिकैको वनमा पाइन्थ्यो । अहिले टाढा जानु पर्छ । यस्तो अबस्थाले हामीलाई चिन्तित पारेकै छ । आपूm त अझ वनको उपाध्यक्ष भएर पनि होला । एक दिन श्रीकृष्ण यूवा क्लब, श्रीकृष्ण आमा समूह र श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहको बैठक बसेर अरु गाउंमा सुधारिएको चुलो ल्याएर प्रयोग गर्न थालिसके हामीले पनि त केही गर्नु पर्छ के गर्ने भने पछि सुधारिएको फलामको चुलो ल्याउने निधो भयो । यसको लागि श्रीकृष्ण आमा समूहको कोषबाट प्रति घर दुई हजारका दरले रकम सहयोग गर्ने पनि निर्णय भयो । बांकी रकम त आ–आफै जुटाउने भयौं । चुलो पनि सबै घरले ल्याई पनि सकेका छन भने मैले पहिलै माटो सुधारिएको चुलो बनाएको थिएं त्यसले काम दिई राखेको छ । सुधारिएको सबैको घरमा छ । गाउं मिल्यो भने काम गर्न सजिलो हुन्छ ।
ä रन बहादुर सारु