सुआहारा दोस्रो चरणको परिचय

नेपाल सरकार तथा विभिन्न राष्ट्रियअन्तर्राष्ट्रिय संघसंस्थाको साझेदारीमा सन् २०२१ सम्म पाँच वर्षका लागि कार्यान्वयन भएको सुआहारा कार्यक्रमको दोस्रो श्रृंखलाको रूपमा अमेरिकी सहयोग नियोग (यूएसएड)को आर्थिक सहयोगमा सञ्चालित सुआहारा–२ले नेपालका १५ लाख भन्दा बढी महिला तथा दुई वर्ष भन्दा मुनिका बालबालिकाको पोषण स्थितिमा सुधार गर्ने लक्ष्य लिएको छ । सुआहारा–२ ले नेपालका ४२ वटा ग्रामीण जिल्लाहरूमा आफ्ना विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । विशेषगरी, महिला तथा दुई वर्ष मुनिका बालबालिकाको पोषणका लागि प्रत्यक्ष रूपमा काम गर्ने सुआहाराले यसका अतिरिक्त किशोरकिशोरी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी तथा स्थानीय सरकारी निकायहरूसँग पनि काम गर्दछ । यी सबै कार्यक्रम तथा रणनीतिको साझा उद्देश्य नेपालमा मातृ तथा शिशुको पोषण स्थितिलाई उकास्नु रहेको छ । यो कार्यक्रमले खानेपानी तथा सरसफाई, घरायसी खाद्यन्न, परिवार नियोजन लगायतका मातृ, शिशु तथा बाल स्वास्थ्य सेवाका क्षेत्रमा बृहत् तथा बहुक्षेत्रीय रणनीतिका साथ काम गर्नेछ ।
विषेश गरेर महिला तथा दुई वर्ष मुनिका बालबालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउनको लागि सुआहारले गर्ने कार्यक्रमरुलाई निम्नानुसार नतिजामा विभाजन गरी कार्यक्रम गर्ने गरेको छ ।

१) नतिजा १ः– घर परिवारको पोषण तथा स्वास्थ्यसम्बन्धी बानी व्यवाहारमा सुधार गर्ने ।
२) नतिजा २ः– महिला तथा बालबालिकामा गुणस्तरीय पोषण तथा स्वास्थ्य सेवाहरुको उपभोग दरमा वृद्धि गर्ने ।
३) नतिजा ३ः– महिला तथा बालबालिकालाई खाद्य विविधता सहित पोषकयुक्त खानेकुराहरुको पुहँचमा सुधार गर्ने ।
४) नतिजा ४ः– स्थानीय तहमा सुशासन सुदृढीकरण गर्दै बहुक्षेत्रीय पोषण योजनालाई विस्तार गर्ने ।

सुआहाराले प्रर्वद्धन गरेका मुख्य व्यवाहारहरु
सुआहाराले प्रवद्र्धन गरेको मुख्य १० व्यवहारहरु निम्नानुसार छन् ।
१. किशोरी, गर्भवती तथा दुई वर्ष मुनिका बच्चाका आमाको खानामा विविधिकरण गरौ, अण्डा तथा मासुको उपभोग बढाआंै ।
२. गर्भवती महिलाले कम्तिमा चार पटक स्वास्थ्य संस्थामा गई गर्भ जांच गराऔ ।
३. गर्भवती महिलाले गर्भाअबस्थाको अवधिभरीमा १८० आइरन चक्की खाऔं ।
४. उपयुक्त आधुनिक परिवार नियोजनका साधन प्रयोग गरौं ।
५. बच्चाको खानामा विविधिकरण गरौ, अण्डा, मासु तथा आईरनयुक्त खानेकुराको उपभोग बढाऔं ।
६. विरामी बच्चालाई साविक वा सो भन्दा बढी खाना खुवाऔं ।
७. बच्चालाई झाडापखाला लागेको बेलामा पुनर्जलीय झोलका साथै जिंक चक्की पनि खुवाऔं ।
८. बच्चालाई ६ महिनासम्म पूर्ण स्तनपान गराऔं ।
९. पानीलाई शुद्धिकरण गरेर मात्र खाऔं ।
१०.जोखिमपुर्ण अवस्थामा मिचीमिचि हात धोऔ।